Wednesday, February 23, 2011

गौरव

अवाक् र स्तब्ध बनाई मलाई
आयौ तिमी
राता टाटाहरु भएको
सेतो आवरणले ढाकिई
बेहोश थिई तिम्री जाहन्
विह्वल थिए तिम्रा सन्तान
बतासले उडाउँदा
रगतमा लत्पतिएको तिम्रो शरीर
माटोको तिलक लगाएको तिम्रो मुहार
प्रदीप्त, प्रफुल्ल र प्रशान्त देखिन्थ्यो
अहँ आँसुको एक थोपा पानि बर्सिएन
तिम्रो घाउले मलाई पोलेन
रगतले मन तर्सिएन
मेरो कोख रित्तियो तर रोएन

माटोको छातीमा तिमीलाई देखेँ
जन्मभूमिको अँगालोमा तिमीलाई पाएँ
धरतीमाताले तिम्रो माथमा दिएको
चुम्बनले
मातृभूमिको आशीर्वादको गुञ्जनले
मेरो आर्तनाद दबिएको थियो
बरु तिम्रो छातीमा सजिन नपाइ
तिम्रो तक्मा धुरुधुरु रोएको थियो

तिम्रो रगत बनी बगेको
मेरो दूधको धारा
आज बनेको छ जाज्वल्यमान तारा
अनन्तसम्म अन्तरिक्षमा
तिम्रो वीरताको आभा छन्
तिम्री आमा उत्सुक छे आज
तिमीलाई सलाम गर्न

No comments:

Post a Comment