Wednesday, February 23, 2011

जीवनचक्र

काला भाँडाका थुप्रोबाट
एकैछिन आँखा बिसाएर
एउटा झ्याल बाहिरको आकाश
चिहाइरहेछ ऊ

उसको आकाशमा सूर्य उदाउँदैन
यहाँ चन्द्रमाको बास पनि छैन
ताराले नै चित्त बुझाउनेथ्यो
कठै ! जूनकीरीको आभास पनि छैन

औंसीका अनन्त रातहरु
काला भाँडाहरुमा पोखिएका छन्
हर रात त्यही कुनामा निस्किन्छ यात्रामा
कसौंडी, कराही, डेक्ची, ताप्के घुम्छ
सर्फ, साबुन, जालो, खरानीमा चढेर
त्यही परिधिमा ऊ पटक पटक फन्को मार्छ
हर दिन त्यही होटेलको भन्छामा
हर रात त्यही जुठ्यानको कुनामा
ऊ कालो पृष्ठभूमिमा कालो अक्षर पढ्छ

आँशुको मसीमा चोप्दै व्यथाको कलम
ऊ भाग्यका पानामा कोर्छ जीवन कहानी
जुन अविरल बहने पसिनाले मेटिन्छ – मेटाइन्छ
र पुनः लेखिन्छ – लेखिरहन्छ पनि
कोही एक – केवल एक पाठकको आशमा

खरानीमा मुछिएको उसका सपनाको अवशेष
जालोका त्यान्द्राहरुमा अल्झिएको जीवन
तुँवालोले ढाकेको भाग्यझै काला भाँडा
आँसुले चम्काउन व्यस्त छन् – अभ्यस्त छन्



No comments:

Post a Comment