Tuesday, February 22, 2011

ह्यारी पोटरको नेपाली कथा

सात वर्षअघि जेके रोलिङको चर्चित पुस्तक ‘ह्यारी पोटर’ को पहिलो भागले काठमाडौंमा पढ्दै गरेका एक ठिटाको मनमा तरंग पैदा गरायो । कस्तो जादुमय भाषा, विषय अनि प्रस्तुति ! पढ्दै जाँदा आफैं पात्र बनेको पत्तै नपाइने जादुमय पुस्तकबारे पछि तिनले पत्रिकातिर स्तम्भ लेख्न थाले । ‘ह्यारी पोटर’ को जबर्जस्त फ्यानका रूपमा उनकै अन्तर्वार्ता पनि छापियो । ‘त्यो पहिलो शृंखलाको जादु म अहिले पनि सम्झन्छु,’ संसारभरि ६७ भाषामा अनुवाद भइसकेको र ४० करोड प्रति बिकिसकेको पुस्तकबारे विजय अधिकारी भन्छन्, ‘कम्तीमा २५ पटक पढें हुँला ।’ श्लेषा थपलिया पनि विजयजस्तै जबर्जस्त फ्यान थिइन् ‘ह्यारी पोटर’ शृंखलाको । अनमिनमा अनुवादकार्यको जागिरे छँदा डेढ वर्षअघिको एकदिन उनी एकदमै खुसी भए, जतिबेला सनबर्ड पब्लिसिङ हाउसले ‘ह्यारी पोटर’ अनुवादको जिम्मेवारी उनलाई सुम्पिने खबर आयो । फ्यान हुनु र अनुवादक बन्नु एउटै थिएन । श्लेषा अक्मकिइन् । किनभने अंग्रेजी साहित्यलाई नेपाली बनाउनु थियो, उनी नेपाली भाषा र साहित्य रुचाउने भए पनि ‘किरो’ भने थिइनन् ।
त्यसपछि उनले अनमिनमै कार्यरत नेपाली भाषा जानकार केदार शर्मालाई भने, ‘तपाईंले सम्पादन गनर्ुहुन्छ भने म अनुवाद गर्छु ।’ केही सोचेपछि केदारले टाउको हल्लाए । श्लेषा लागिन् अनुवाद कार्यतिर । यसबीच श्लेषालाई सिंगापुर जानुपर्ने भयो, केही वर्ष नफर्किने गरी । ला.. अनुवाद अधुरै रहने भो । तर सौभाग्य, यहीँनेर अब फ्यान विजयको भूमिका बलियो बन्न थाल्यो । कुनैबेला दि काठमान्डु पोस्टमा ‘जेके रोलिङ हाम्रो जमानाकी सबैभन्दा उत्कृष्ट जादुगर्नी..’ भन्दै ‘ह्यारी पोटर’ बारे स्तम्भ लेख्ने तिनै विजय अब अनुवादमा पनि जोडिन आइपुगे, केदारको सम्पर्कसूत्रमार्फत । ‘श्लेषाले नभ्याएकी चारवटा अध्याय बाँकी थियो, मैले काम थालें,’ हालैको दिन २५ वर्षे विजयले भने, ‘त्यसका लागि झन्डै तीन महिना लाग्यो ।’ विजयलाई पनि अनुवाद सजिलो सावित भएन ।
किनभने पूर्वी नेपालमा जन्मी हुर्केका र झर्रो पूर्वेली शब्दको संगतमा हुर्केका उनी ‘ह्यारी पोटर’ खाँटी नेपाली पुस्तकजस्तै बनाउन चाहन्थे । सहर भन्दा पनि पुस्तक पुग्न नसकेका गाउँका कुना कन्दरासम्म ‘ह्यारी पोटर’ पुर्‍याउने प्रकाशन गृहको पनि ध्येय थियो । ‘अब हामीले ग्रुपमा काम थाल्यौं,’ विजयले भने, ‘अर्की फ्यान अदिति अधिकारी पनि मिसिन आइपुगिन् सम्पादनका लागि । केदार काकासहित अब हामी तीन जना भयौं ।’ नेपालीपन कसरी दिने त ? तीनै जनाले मस्तिष्क खियाउन थाले । विजयले रमाइलो दृष्य सोचे, ‘ह्यारी पोटर र डम्बलडोरले नेपाली बोलिरहेको दृष्य । केदार छक्क पर्दै हाँसे । ‘हो, त्यही गर्‍यौं ।
पूरै दुई रात, दुई दिन हामी तीनै जनाले नेपालीपन दिनका लागि खर्चिनुपर्‍यो ।’ उत्साहित भावमा विजयले भने, ‘संवादहरू मिलाइरहँदा पात्रहरूले नेपालीमा गफ कसरी गर्लान् भन्ने सोचिरह्यौं ।’ नयाँ शब्द आयात नगरीकन र सन्दर्भ नभाँचीकन मौलिकता दिइएको उनले दाबी गरे । ‘अर्को कुरा पनि छ,’ विजयले भने, ‘पात्रहरूको नाम परिवर्तन गरेनौं । किनभने फ्यान भएको हैसियतले म जेके रोलिङलाई धोका दिन चाहन्नथें ।’ अर्थात् उनलाई दुइटा सन्तुष्ट मिल्यो पुस्तकबाट । एक, उनी आफूलाई ‘नेपाली भाषाको कट्टरपन्थी’ ठान्छन्, त्यसका लागि बढीभन्दा बढी नेपालीकरण गरे शब्द र वाक्यांशको । अर्को, ‘पात्रहरू जस्ताको तस्तै’ राखेर जेके रोलिङको सम्मान गरे ।
मिठासपूर्ण भाषाको श्रेय भने उनी केदारलाई दिन्छन्, उनैले ‘ह्यारी पोटर’ को अनुवाद कार्यसम्म डोर्‍याएका थिए विजयलाई । हिमाल एसोसिएसनद्वारा प्रकाशित उपभोक्तावादी संस्कृतिबारे ‘आधुनिकतासँग सावधान’ र ‘बिग्रेको बाटो’ का लेखक तथा ‘सुस्केराहरू’, ‘अझ धेरै बाँच्नु छ’ लगायत दर्जन विकास तथा चेतनामूलक पुस्तकको सम्पादन गरिसकेका केदार ‘ह्यारी पोटर’ बाट सन्तुष्टि मिलेको बताउँछन् । ‘किनभने यसरी नेपालीपन दिएर कुनै पनि विदेशी कृति अनुवाद भएको छैन,’ उनको दाबी छ, ‘हतारका केही कमजोरी पनि छन्, जुन दोस्रो संस्करणमा सच्चिनेछन् ।’ झन्डै डेढ वर्षपछि विश्वविख्यात कृतिको अनुवाद कथा यसरी टुंगियो । नेपाली पुस्तक बजारमा ‘ह्यारी पोटर’ को पहिलो शृंखला उपलब्ध छ, ‘ह्यारीपोटर र पारसमणि’ को नामबाट ।
सातमध्ये पहिलो शृंखला ‘ह्यारी पोटर एन्ड फिलोसोफर स्टोन’ को ‘फिलोसोफर स्टोन’ लाई पारसमणि बनाइएको छ, पुस्तकको नाम पढ्नेबित्तिकै पाठकले नेपालीपन महसुस गर्नेछन् । निपात र झर्रो नेपाली शब्दहरूले पुस्तकलाई बढी नै नेपाली बनाइदिएको छ । अंग्रेजी ‘यु नो’ लाई ‘त्यो छ नि’ शब्दले मिठास दिएजस्तै ‘पुगिसरी आउनु’, ‘खित्रिक्क पर्नु’ जस्ता वाक्पद्धतिले पाठकलाई तानिरहन्छन् । जादुमन्त्र नजान्ने मान्छेलाई ह्यारीले पुस्तकमा ‘मगल’ भनेका छन्, जुन शब्दलाई अक्सफोर्ड डिक्स्नरीले पनि मान्यता दिइसकेको छ । नेपालीमा भने यो ‘मनुवा’ बनेर आएको छ । पुस्तकको बीचबीचमा प्रयोग भएका कविताहरू पनि नेपाली शैलीमा ढालिएका छन् ।
बाबुआमाको रहस्यमय दुर्घटनाबाट मुत्यु भएपछि काकाकाकीको घरमा दुःख, पीडा, हेय र अपहेलनाका साथ हुर्किरहेका ह्यारीको भाग्य अचानक कसरी बदलिन्छ ? स्वैरकाल्पनिक उपन्यास यसपछि निरन्तर गति लिन्छ ।

No comments:

Post a Comment