Tuesday, February 22, 2011

चिहानमा समाधिस्थ प्रेम

म त्यो दिनको सम्झना मार्न चाहान्छु
बौरिएर आउँछ 
छोप्न खोज्छु खुलेर आउँछ
बिर्सन खोज्छु ताजा भएर आउँछ
दफन गर्न खोज्छु अंकुरिएर आउँछ
त्यो दिन प्रेम चिहानमा गाँडेको अशुभ दिन थियो
 
 
मैले वैशका फूलहरूले 
जीवनको सपना रोपेको थिएँ
त्यसलाई साना साना कीराहरूले खान थालेछ
मैले त्यस बगैंचामा धेरैधेरै आशाहरू हुर्काउन खोजेँ
पातबाट तप्तप् टप्किन थालेछ
मैले त्यहाँ भविष्य सजाउन खोजेँ
कोपिला मै भँमराले चुस्न थालेछ
 
 
टाढाबाट हेर्थे र रमाउँथे 'प्रेम'
सुन्दर देखिन्थ्यो 
फक्रिन्दै छ, मौलाउँदै छ भन्ने लाग्थ्यो
तर म भ्रममा थिएछु
त्यो मेरो प्रेम त धमिराले सिध्याउँदै थिएछ
 
 
त्यो अशुभ दिनको सम्झनाले 
भित्रैदेखि पोल्छ
र प्रेम खाने कीराको याद आउँछ
ओइलिएको फूलको याद आउँछ
भँमराको याद आउँछ
अनि चिहानमा समाधिस्थ प्रेमको अनुहारले
बलिरहेको आत्मालाई तृप्ति दिन्छ

No comments:

Post a Comment