Tuesday, February 22, 2011

परेवाहरु लुतो कन्याइँरहन्छन्

हो परेवाहरु लुतो कन्याइँरहन्छन्
नाङ्गा जनताका आङ्को उपहास गदै
राष्ट्रप्रमुखहरु भोटो नजरा गरेर
फासिस्ट राजाको साँस्कृतिक शक्ति च्यूत गरेको 
मनोरती पालेर बाह्र हात उफ्रँदा
निश्चय नै 
शान्तिको परेवाले लुतो कन्याउँछ ।
जनताका दुस्मन,
पूर्व-तानाशाहहरुलाई प्रतिपक्ष बनाएर
सत्तासिन हुने प्रगतिवादीहरुको 
निरीह मनोकांक्षाले
गैंडा र घुन एउटै देखेपछि
अमनको परेवाले फेरि लुतो कन्याउँछ । 
 
 
आफै ठूलो हुने
अर्काको तोजोलाई वध गर्ने
कुत्सीत अभिलासा पालेर
मुलुक नयाँ तुल्याउने शीर्षहरु
हिलो छ्यापाछ्याप गरेर
फोहोर खेलेपछि
लुतो कन्याउँछन् परेवाहरु ।
 
 
आफ्नो स्तुति ओकली दिएपनि
दुइ हात थापेर हसुर्ने
आलोचनालाई 
प्रतिगमनको वान्ता ठान्नेहरु
काँढे साङ्लीले कित्ताकाट गरेर
कलमहरुलाई कैद गरेपछि
परेवासँगै कलमले पनि लुतो कन्याउँछन् ।
 
 
सत्ता लिप्तक मदारीहरुको राज्य-सत्ता
भागवण्डाको लुछाचुँडीमा
परेवाहरु लुतो कन्याइँरहन्छन्
गीद्धहरु शान्तिको प्रलाप छाडिरहन्छन्
हो परेवाहरु लुतो कन्याइँरहन्छन्

No comments:

Post a Comment