Wednesday, February 23, 2011

फुल्न नसकेको पारिजात


पटुकामा भिरेको हँसिया
मेरा चउरभरिका कविताहरु
रेट्न तम्सिन्छ
चोइटिएका ति हरफहरु
समेटिएर डोकोभरि
विह्वल हुन्छन्
निर्दयी बन्चरो
मेरा जङ्गल भरिका किताब
च्यात्न तम्सिन्छ
चिरिएर, काटिएर, टुक्रिएर ती अक्षरहरु
चुल्होमा दनदनी बल्छन्
मेरा शब्दका धूँवाले
मेरा आँखा रसाउँछन्
क्रमशः मेरा किताबका पाना
मसँगै खरानीमा
अनुवाद हुन्छन्
गोठमा छरिएका
मेरा गीतका बोल
गुइँठा बनेर भित्ता भरि गुञ्जिन्छन्
मेरा अन्तरा
भूइँभरि लिपिन्छन्
रक्ताम्य ती गीत
अनि गाउँछन् रोदन

अन्ततः अन्धकारमा
विस्राम पाउन नसकेका चन्द्रमा
कठ्याङ्ग्रिदै नाच्छ
चिथोरिँदै हाँस्छ
हर रात मेरो साथ
मेरो आँसु बगेका पँधेरी
मलाई हेरेर खिसिक्क हाँस्छन्
म आफ्नै आसुँ थाप्छु
म आफ्नै आसुँले सिंच्छु
फुल्न नसकेको पारिजात
बोटमै ओइलाएका लता

No comments:

Post a Comment