विविध स्वाद दिने र समयसाग पाठकहरुलाई साक्षात्कार गराउने कथाहरुलाई एउटै सङ्ग्रहमा ठाउँ दिइएको छ्-'प्रख्यात नेपाली कथा खण्ड १ र २' मा । पत्रकार ब्याकुल पाठकले सम्पादन गरेको यी सङ्ग्रहलाई रत्न पुस्तक भण्डारले २०६५ र २०६६ मा प्रकाशनमा ल्याएको हो । वर्तमानका शक्तिशाली र उम्दा कथाकारहरुको कथाहरुलाई एउटै सङ्ग्रहमा अटाईएको यो सङ्ग्रहको शक्ति भन्नु नै यो समयको यो कालखण्डको एक उत्कृष्ट कथा दस्तावेज बनेको छ । पहिलो खण्डमा ध्रुवचन्द्र गौतमदेखि तृण्णा कुँवरसम्म, पुष्कर लोहनी देखि महेशविक्रम शाहसम्मका कथाकारहरुका समय चेतना, प्रेम, रतिराग, द्वन्द्व, दर्शन, गरिबीसँग सम्बन्धित १८ कथाकारका १८ कथालाई यो सङग्रहले ठाउँ दिएको छ । विभिन्न पत्रपत्रिकामा प्रकाशित यो समयका प्रखर कथाकारका कथाहरु छानेर सङ्ग्रह गरिएको यो कथा संग्रहको वैशिष्ठ्य भन्नु नै समयको यो कालखण्डमा आम पाठकहरुले भोगेको समयको समसामयिक, कालक्रमिक र विविध प्रतिबिम्बन गर्नु हो । समयक्रममा कथाकारले भोगेका घातप्रतिघात, जीवनका कठिनतम् भोगाई, विविध अनुभूतिको जिउँदाजाग्दा दस्तावेज पनि हो यो सङ्ग्रह । संग्रहमा ध्र्रुवचन्द्र गौतमको 'पि्रक्लोन ६०' देखि कुमार नगरकोटीको 'पृथ्वी.......' सम्म अटाएका छन् । 'पि्रक्लोन ६०' एउटा यस्तो कथा हो जसमा कथाकार गौतमले आफ्नो ६० वर्षे उमेरको बुढ्यौली अनुभव, अभाव र विवशताहरुलाई समेटेका छन् । उनले यो कथामा आफ्नो निजी जीवनको अनुभूतिलाई राष्ट्रसाग जोडेर राष्ट्रिय विद्रूपताको परिचय गरेका छन् । ऋषिराज बरालको स्मृतिविम्व कथा १२ लामो जनयुद्धसँग जोडिएको छ । कथाकारले यसमा १२ वर्षे जनयुद्धकालको स्मृति गरेका छन् । त्यस्तै, पुष्कर लोहनीको 'खै....' कथामा उनले आफ्नो पूर्व पहिचानलाई अझ स्थापित गराउँदै खरो यौन साहित्य पस्किएका छन् । उनले यो कथामा समलिङ्गीहरुको कुरालाई ठाउँ दिएका छन् । लोहनीको विषयलाई नै पछ्याउन युवा कथाकार रत्न प्रजापतिको यौन कथाको लेखनको गतिलाई कतिपयले लोहनीलाई उछिन्ने गतिसमेत भनेर अथ्र्याउछन् । प्रजापतिको 'पीढी' कथा त्यसकै पछिल्लो प्रमाण पनि हो । 'पीढी' कथामा कथाकारले समयक्रममा आएको एउटा नयाँ 'पीढी' को खुलस्त यौन जीवन र भोगाईहरुको चित्रण गरिएको छ । 'क्यान्टोनमेन्ट' महेशविक्रम शाहको एउटा यस्तो कथा हो जसमा संक्रमणकालको द्वन्द्व ब्यवस्थापनसँग सम्बन्धित विद्रुप पक्षलाई अटाईएको छ । यो कथाले अहिलेको कालखण्डको एउटा भयावह पक्षको चित्रण गरेको छ । स्रग्रहमा आख्यान लेखनमा नाम कमाएका कृण्ण धराबासीको पारपाचुके कथा पनि समेटिएको छ जसले पाठकलाई विह्वल बनाउने हैसियत राख्छ । महिला कथाकारहरु गीता केशरी, भगीरथी श्रेष्ठ,इन्दिरा प्रसाई, जलेश्वरी श्रेष्ठ, नीलम कार्की 'निहारिका' र तृण्णा कुँवरका कथाहरु पनि संग्रहमा समेटिएका छन् । गीता केशरीको कथामा सडक बालबालिकाहरुको जीवन भोगाईलाई उतारिएको छ भने, भागिरथी श्रेष्ठको रातो गुलाफ कथामा प्रेमको अभिब्यक्ति गरिएको छ । जलेश्वरी श्रेष्ठको कथाले पनि प्रेमको उच्चताको भावनात्मक अभिब्यक्ति गरेको छ । कथाकार इन्दिरा प्रसाईको 'एउटा रोज है गीता' कथामा पत्रात्मक शैलीको कथाले गरिबी, बेरोजगारी, जनयुद्ध लगायतका विविध विषयलाई समेटेको छ । एउटै कथाभित्र विविध अभिब्यक्ति हुनसक्नु यो कथाको सामथ्र्य हो । नीलम कार्की 'निहारिका' को 'अन्तत ः तिमी मेरो कथाको पात्र' र तृष्णा कुावरको 'चुनाउ' कथामा क्रमश ःनेपाली नारीको दयनिय अवस्था र संविधानसभा चुनावको अवस्थाको दृश्य प्रस्तुत गरिएको छ । संग्रहमा नयनराज पाण्डेको 'लाग्छ नि कथामा चाकडी र चाप्लुसी मात्र योग्यता भएकाहरुको चित्रलाई उतारिएको छ । त्यस्तै, पछिल्लो समय कथा लेखनमा विशिष्ट क्षमता प्रर्दशनका साथ अलग र फरक उचाई बनाएका कुमार नगरकोटीको 'पृथ्वी.......' कथामा बौद्धिक उचाई, चिन्तनशीलता र गाम्भीर्यता भेट्न सकिन्छ । कथा लेख्दै गरेका युवा कथाकारको फरक र स्पष्ट छवि बनाएका चंकी श्रेष्ठको कथा 'अजम्मरी'मा कपटी र धूर्त मान्छेहरुको स्पष्ट अभिब्यक्ति छ । यो कथामा लेखकको आफ्नै अनुभव पनि मिसिएको सम्पादकले ठहर्याएका छन् । संग्रहमा कृण्ण सर्वाहारीको 'माघुरामको माघी' र विमल भौकाजीको 'अपहृत परिचय' पनि अटाएको छ जसमध्ये पहिलो कथामा मुक्त कमैयाको कथाब्यथा उतारिएको छ भने भौकाजीको कथा मान्छेको कपटी, स्वार्थी र धुर्त रुपलाई उतारेको छ । समग्रमा यो कथा संग्रह हामीले भोगेको समयको एउटा दस्तावेज हो । धेरै विषय, पात्र, प्रवृत्तिका फरक फरक रुचि भएका पाठकलाई सम्बोधन गर्ने यो संग्रहको महत्ता नै एउटै संग्रहमा अटाएको विविधता हो । वरिष्ठदेखि नयाा पुस्ताका स्थापित कथाकार सम्मका छानिएका कथालाई , अझ विधागत उचाई छोएका कथालाई यो संग्रहमा अटाईएको छ । सम्पादकले भनेजस्तै यो संग्रहलाई 'बेजोड कथा, उस्तै कथाकार' भन्ने विषेशणसँग सहमत हुन सकिन्छ । रत्न पुस्तकले रत्न साहित्य परियोजना अन्तर्गत ल्याएको यो पुस्तकको श्रृङखलाको रुपमा खण्ड २ समेत बजारमा आईसकेको छ । -रमेश न्यौपाने भाग दुईबारे:नेपाली कथाहरूको संचयन कथा साहित्य सायद सबैभन्दा बढी पढिने विधा हो। तर कमै लेखिने विधा पनि कथा नै हो। नेपाली कथा साहित्यमा एक त कथाकार नै कम छन्। झन् त्यसमाथि राम्रा कथाकार त साह्रै नै कम छन्। तिनै थोरै कथाकारहरुमध्येबाट पनि कथाहरु चयन गरेर एउटा सम्पादित प्रतिनिधि संकलन तयार पार्न त हम्मेसी कोही अघि सर्दैन। सायद यो एउटा कठिन कार्य हो। ब्याकुल पाठकले तर यो कठिन कामलाई सम्भव तुल्याएका छन्। पेशाले पत्रकार ब्याकुल पाठक आफैंमा एक प्रतिनिधि युवा साहित्यकार पनि हुन्। गीत, गजल, निवन्ध, लेख, पुस्तक समीक्षालगायतका विधामा कलम चलाउँदै आएका ब्याकुल पुस्तक सम्पादकका रुपमा अवतरित भए 'प्रख्यात नेपाली कथा, खण्ड–१' मार्फत्। मनग्ये चर्चा बटुले। पाठकको माया पाए मुरीका मुरी र उनको अर्को अवतरण भएको छ 'प्रख्यात नेपाली कथा, खण्ड–२' मा। एक्काइसवटा कथाहरु संग्रहित यस स.कलनमा रमेश विकल, परशु प्रधान, राजव, जगदिश घिमिरे, माया ठकुरी, गोपाल पराजुलीलगायतका अग्रणी कथाकारका कथाहरु समेटिएका छन्। नेपालका उत्कृष्ट कथाकार रमेश विकलका कथाहरुसँगै हुर्केको हाम्रो पुस्तालाई संग्रहमा उनको कथा पढ्न पाउँदा रमाइलो त लाग्ने नै भो अझै मणि लोहनी, अनमोलमणि, कपिल काफ्ले, विवश पोखरेलजस्ता युवा प्रतिनिधि कथाकारहरुका कथालाई संग्रह गरेर सम्पादकले पुस्तकलाई उत्कृष्ट पार्ने प्रयत्न गरेका छन्। संग्रहमा संकलित कथाहरुले मानवीय संवेदना, आवेग, देशका पीडा, मर्म, मानव जीवनका नखुलेका पाटाहरु, अव्यक्त रहस्यहरुलाई उजागर गर्ने जमर्को गरेका छन्। नारी पुरुष सम्बन्ध र तिनका आयामहरुलाई केलाउने कथा हो परशु प्रधानको 'घर–५' शीर्षकको कथा। घरलाई घर बनाउन सबैभन्दा बढी भूमिका हुन्छ मानवीय मूल्य मान्यता र माया प्रेमको होइन भने त जीवन नै लथालिंग हुन्छ। जेल बन्छ घर। कथामा नारी पात्रलाई विशेष स्थान दिने र यौनलाई भरपूरप्रयोग गर्ने परशु प्रधानको यो कथा संग्रहको राम्रो कथा हो। त्यसैगरी माओवादीविरुद्धको कारवाहीको नाममा प्रहरीले अनकन्टार गाउँका मानिसहरुमाथि गरेको अत्याचार र दमनका घटनालाई केलाएका छन् कथाकार रमेश विकलले 'आतंकमा बाँचेको वस्ती' मा। सशस्त्र द्वन्द्वले पिल्सिएका साधारण गाउँलेहरुको मनोदशालाई उतारेका छन् जस्ताको त्यस्तै। भौतिक रुपमा हामीबाट टाढा गइसकेका वरिष्ठ कथाकार रमेश विकल आफ्ना अनगिन्ती कालजयी कथाहरुमा अमर छन्। विशेषगरी सिमान्तकृत नागरिकका पीडा सबैथोक गुमाउनेहरुका व्यथा, गरिबका विवशता र छटपटीलाई आफ्ना कथामा लेख्ने रमेश विकल वास्तवमा समाजका कथाहरु भन्ने कथावाचक थिए। नेपालमा चलेको सशस्त्र द्वन्द्वका कथा व्यथाहरुलाई धेरै साहित्यकारहरुले आफ्ना विषय बनाएका छन्। धेरैले द्वन्द्वका घाउहरुलाई छामेका छन्, अनुभव गरेका छन्। तर अधिकांश साहित्यकारहरुले एकतर्फी रुपमा सुरक्षाकर्मीले गरेका ज्यादतिलाई मात्रै लेखे। अर्को पाटोमा भने मूक नै रहे। तर कपिल काफ्लेले 'अनिदो रात' कथामा माओवादीले द्वन्द्वकालमा गरेका अत्याचारलाई बयान गरेका छन्। हुन त कपिल काफ्ले पत्रकार हुन् तर उनी कथामा पनि उस्तै सशक्त रुपमा देखापरेका छन्। माओवादीले गरेका हत्या, अपहरण, चन्दा आतंकलगायतका विषयलाई उठाएका छन् उनले आफ्नो कथामा। र माओवादीलाई प्रश्न गरेका छन् व्यवहारिक रुपमा। रमेश विकलको 'आतंकमा बाँचेको वस्ती', मंजु काँचुलीको 'राहत', हरिहर खनाल र दिल साहनीका 'क्यान्टोनमेन्ट' शीर्षकका कथाहरुले पनि सशस्त्र द्वन्द्वकै कथाहरु भनेका छन्। अमेरिका भासिएका कथाकार राजव पछिल्लो समयमा अमेरिकामा नै भेटिएका नेपालीका दुःख र संघर्षलाई लेखिरहेका छन्। राजवले पछिल्लो समयमा आप्रवासीहरुका कथालाई विशेष गरी लेखेका छन्। 'अमेरिका बिलहरुको देश हो। बिल तिर्दातिर्दा हातमा रहन्छ शून्य र दौड मात्र।' तेस्रो विश्वबाट सपनाहरुको भारी बोकेर अमेरिका जाने मानिसहरु त्यहाँको भागदौडमा त्यही भारीले थिचिनु पर्ने बाध्यतालाई निकै नै घतलाग्दो किसिमले लेखेका छन् राजवले। विस्तारै–विस्तारै आधुनिकताको नाममा संवेदनाशून्य हुन थालेका मानिसको शल्यक्रिया गरेका छन् अनमोलमणिले 'टेस्टट्यूव बेबी र मेरी प्रेमिका' शीर्षकको कथामा। क्रमशः यान्त्रिक बन्दै गएका मानिसहरुलाई व्यंग्य गरेका छन् उनले। एकदमै भिन्न विषय उठाएकी छिन् माया ठकुरीले 'किन्नर' कथामा। यो समाजको एउटा नखुलेको पाटो पनि हो। मणि लोहनीको 'बिम्लीकी दिदी र आबोई पोते' एउटा प्रेम कथा हो। त्यस्तै संकलका बाबा बस्नेतको 'मर्दनिया' धीरेन्द्र प्रेमर्षिको 'हाइनेक' ध्रुव मधिकर्मीको 'भीमसेनको गदा र हनुमानको पुच्छर' गोपाल पराजुलीको 'तीन सुब्बा', डा. राजेन्द्र विमलको 'रामेछापका श्रवणकुमार' पनि पठनीय कथाहरु हुन्। समग्रमा भन्नुपर्दा एउटा पठनीय र संग्रहनीय पुस्तक बनाएका छन् 'प्रख्यात नेपाली कथा खण्ड–२' लाई सम्पादक ब्याकुल पाठकले। विगत साठी वर्षभन्दा अगाडिदेखि राष्ट्रको प्राज्ञिक र वाङमयिक क्षेत्रमा सेवा पुर्या्उँदै आएको रत्न पुस्तक भण्डारबाट दुई वर्षदेखि चलाइँदै आएको रत्नसाहित्य परियोजना अन्तर्गत प्रकाशित भएको 'प्रख्यात नेपाली कथा, खण्ड–२'ले कथा साहित्यमा देखिएको खाडललाई अवश्य नैपुर्ने छ। रत्न पुस्तक भण्डार र व्याकुल पाठकको यो सहयात्रा निरन्तर चलिरहोस्। तारानाथ सापकोटा
No comments:
Post a Comment