Sunday, September 25, 2011

नया बर्षको कामना यसरी...

आज यौटा तान्का टासेर सबैमा नया बर्षको शुभकामना दिन चाहन्छु ।

वौद्ध धर्म र जेन परम्पराको प्रभाव तान्काको आत्मा हो । चौधौं शाताव्दी लामो इतिहास बोकेको यो कविताको लोकप्रियताको कसी मानयोशु काव्य संकलनलाइ लिन सकिन्छ, यद्यपि आजपनि यसको चेतना प्रभाव, शक्ति र क्षमताप्रति उत्तिकै विश्वाश छ । नया बर्षको शुभकामना दिने केहि पृथकपनाको खोजि गर्दै म हज्जारौं बर्ष पछाडी फर्किएको छु, "साहित्यको सिमा हुदैन, यो कुनै देशको पनि हुदैन त्यसैले यतिखेर तान्का यहाँ मेरो भएको छ" । कसको/के विधा भित्र्याइस हँ भनेर औंला उठाउनेहरुलाई मेरो रेडिमेड जवाफ । यो तांका कामना हो नया बर्षको, यसको सौन्दर्य जस्तो सुकै देखिए पनि, शास्त्रीय संरचना भित्र लेखिएका यी हरफहरुको प्रभाव सबैको मन मस्तिष्कमा पुगोस र ऋचामन्त्र झैं अनुभूत र ग्रहण होस् ।

यसरी शुरु हुन्छ ....



ए प्रमिथस!
धपक्क भइ केहि
उदायो हेर
अब तिमी खोज्नेछौ
अग्नी हैन उज्यालो ।



कुहिरोले धुम्म भोट





कुहिरोले धुम्म भोट
सिरेटो र सिमसिम पानी
फुस फुस हिउँ बनेर खसिरहेछ
घरको सम्झना
आँखाको गहिरो गहिरो आकाशमा
र पग्लिरहेछ्न तप तप
यो झरी हो कि आँसु हो
बिरानो देशमा मदनहरु रुझी रहेछन ।

ल्हासाको सुन जस्तै
मुनाका उज्याला छायाहरु बोकेर
मायाका एक लहर श्वेत शिरिषहरु
छपक्कै फुलिदिन्छन
फिक्का फिक्का
लुक्याङ तलाउको रंग जस्तो
मनको आगनभरि ।

बाहिर तासिलिङ्गा उपवन
हावामा तैरी रहेछ ।

साग र सिस्नु कति खानु ?
लक्ष्मी! तिम्रो कथा आज पनि उस्तै छ
ठाउ ठाउँ फाटेका अभावका थोत्रा राडीहरु टाल्न
मदनहरु खाडी चाहार्दैछ्न
र चराउदैछ्न भेडाहरु ।

ल्हासा त एउटा कथा मात्र हो तिमीले लेखेको
लाला बालाका आङ ढाक्ने ठिहिरो रहर बुन्दै
ऊन टिप्न कहाँ कहाँ मात्र पुगेका छैनन् मदनहरु?

पखेटा लागेका पंक्षीले
चटक्कै गुंड छाडेझैं
खरको छानो उस्तै चुहिदो छ ।

एकसरो राम्रो लगाउनु
एक मुठी मिठो खानु
ऋणको पोको तिरेर फुक्की हुनु
वा सके धारो र पाटी पनि बनाउनु
कुन ठुलो इरादा छ उसको ?

न पोतालाको सुनको छानो ताक्छ उ
न इन्द्रको आसन नै आँक्छ उ

आमाका आँखाहरुमा
वा मुनाका ओठहरुमा
झिना मुस्कानहरु किन्ने
यस्तै यस्तै सपनाहरुको निष्ठुरी बर्खा
तर उसको सिरानीमा
हरेक रात पोखिईरहेको हुन्छ ।

लक्ष्मी! तिम्रो सानो नेपालमा
हरेक दिन उर्लन्छन
जुलुसका बाढीहरु र बगाउछ्न
नया नेपालको सप्पै खाका रचना

यो अराजक भिड
जहाँ शामिल हुन्छन
मुकुण्डो भिरेका आधुनिक बुद्धहरु
र नाघ्छ्न हिँसा र बर्बरताको पराकाष्टा
र ढाकिन्छ
अशान्ति र अव्यवस्थाको अँध्यारो
देशै भरि

कालो काग भएर
घरको नमिठो अखबार
आएर थपक्क बस्छ
अभागी चेतनाका हाँगाहरुमा
र ठुंग्न थाल्छ - मदनका मथिंगलहरु
जो मानेको चक्र जस्तै घुमी रहेछ ।

यो छुजिक्याङ बगैचा
युतोक स्याँपा र घाँसका सुन्दर गलैचा
अनि सुनको सुनौला सपनाहरु
सप्पै थाति राखेर
मदन, त्यो बासी घर
यतिखेर फर्कन्न भन्छ ।

जहाँ ओइलाएका छन
हासो र खुसिका फूलहरु
र ढुसी परेका छन
जीवनका संकेतहरु
उ किन यस्तो सोच्छ?
पलायनको एउटा बैरागी तगारो
उसको बाटो छेकिरहेछ ।

घरको मायापनि
के विहानको हुस्सु जस्तै हुन्छ?
घाम फैलिदै आएपछी
लुसुक्क अलप हुने
मनका पाखाहरुबाट

चुहिए पनि, फाटे पनि
अँध्यारैले ढाके पनि
घर त आफ्नै घर हो
ए कोहि भनिदेउ न उसलाई
आमा साह्रै बिरामी छिन ।

"भैसीहरु हिलो खेली रहेथे -
रात रातभरि राजनीतिका,
यस्तो सपना कसरी शुभ हुन्छ?
कतै फैलिन्छ कि महामारी
लघार्छ कि जम्मै गाउँ
चाहिएन सुन बरु बुच्चै बसुँला"।

मुनाले नजाती सपना देखिन ...
कति बस्छौ कुरेर मदन,
कुहिरोले धुम्म भोट?

यो कहाली लाग्दो बर्खा
आंधीबेहरी जस्ता दिनहरु
चुहिने छानो
भत्किएको पाखो
देउसी खेल्न यसपालिको तिहार,
के तिमी आउदैनौ मदन?

एकै शिर्षकका तीन लघु कथाहरु

शिर्षक "चौतारी"
(पहिलो कथा)


गाउँको बिचमा एउटा मनोहर चौतारी थियो ।
कतै टाढा हिडेको वटुवा थकाइ मार्न होस् वा घास दाउराको भारी बिसाएर जिन्दगीको गीत सुसेल्न आउने सबैलाई त्यो चौतारी आफ्नो छहारीमा प्रेमपूर्वक लुकाएर शितलता प्रदान गर्थ्यो ।
त्यो चौतारी जहाँ कति कचहरी बस्थ्यो, न्याय अन्यायको फैसला हुन्थ्यो । पन्डित बाजे रामायण वाचन गर्थे, लाहुरे बा लड़ाइँ र युद्धका कथा सुनाउथे । किशोर किशोरीहरु समूह बनाएर सामाजिक परिवर्तनका योजनाहरु बुन्थे । भित्ते पत्रिका निकाल्थे, सांस्कृतिक कार्यक्रम देखाउँथे । दशैं तिहार आउंथ्यो, लामो डोरी बाटिन्थ्यो र यसैको हाँगामा पिङ राखिन्थ्यो ।
एकदिन मोक्षप्रसाद सर चौतारीको त्यही हाँगामा झुन्डिएको भेटिनु भयो, पछाडी हात बाँधेर उनलाई गोली हानिएको थियो। विद्रोहीहरुले क्रान्तिको नाउँमा उनको निर्मम हत्या गरेका थिए ।
जनयुद्ध रोकियो देशमा ठूलो परिवर्तन भयो, गणतन्त्र नाम गरेको व्यवस्था आयो । तर त्यो चौतारीमा आजकल कोही पनि जान छाडेका थिए । कसैलाई कसैको मतलव हुन् छाड्यो, सामाजिक एकता र अपनत्वको भावना हराएझैँ लाग्न थालेको थियो । जजसले छाती भित्र एकता वा 'चौतारी'को अभाव महशुस गरेका थिए तर ती बोल्न नसकी भित्रभित्रै पिल्सिई रहेका थिए ।

न कसैको आगमन, न कुनै भेला । खैन किन हो, सबै जना डराउथे । चौतारी रित्तो र सुनसान हुन थालेको थियो ।
एक दिन नाति दौड्दै आयो र भन्यो हजुरबा हजुरबा ... मैले चौतारीमा मास्टरजीको भूत देखें । उनको आत्मा रोइरहेको थियो ।




शिर्षक "चौतारी"
(दोश्रो कथा)


गाउँ अहिले गाउँ थिएन , मेलापात, हाट बजार लाग्न छाडेको बर्षौं भैसकेको थियो। अधिकांश तन्नेरी तरुनीहरु गाउमा थिएनन, त्यसैले पारीसम्म सुनिने दोहोरी र लैबरीको भाका, अहँ कहीँ कतै गुन्जदैनथ्यो । गाउँको मध्ये भागमा रहेको चौतारीमा कति प्रेमी प्रेमिकाले कविता जस्ता मिठा प्रेम र अनुरागका संवादहरु गरे, मायाका स्वर्णिम पलहरु बिताए र न्यानो अंगालोमा आफुलाई हराएर जुनी जुनी संगै जिउने मर्ने कसम पनि खाए । वरपिपलको त्यो चौतारीमा लेखिएका ती सबै कथाहरु आज मेटिई सकेको थियो ।
दुखको कुरा मान्छे भौतिक हुदै गैरहेका थिए, उनीहरु मान्छे भित्र मन भन्ने नै हुदैन भन्थे र रुखलाई त अझ काठ मात्र देख्थे ।
गाउँको माझमा रहेको वर् पिपलको रुख पनि ढल्यो । त्यो ठाउँमा गाविस भवन बन्यो ।
आज गाविसमा सार्वजनिक छलफल कार्यक्रम भएकोले म पनि त्यहाँ पुगें । एउटा सानो हल भित्र थियो कार्यक्रम । आयोजक, अतिथि, पत्रकार लगायत सबै उपस्थितहरु आ-आफ्नो आसनमा बसे । छलफल शुरु भयो । अगाडी ठुलो ब्यानर टांगिएको थियो - लेखिएको थियो "छलफल चौतारी" ।
छेउमा एकजना सिकर्मी दाजु पारिश्रमिक लिन आउनु भएको थियो, उनीबाट के थाहा पाएँ भने कार्यक्रम हुने बैठकमा भएका टेबल कुर्सि दराज लगायतका सम्पूर्ण फर्निचर त्यही बर र पिपलको चौतारी अथवा रुख अथवा काठबाट बनाइएका हुन् ।
लाग्यो "छलफल चौतारी" त्यतिकै कहाँ लेखिएको रहेछ र ?




शिर्षक "चौतारी"
(तेश्रो कथा)


नयाँघरे काकाको छोरा 'समय' लामो समय विदेश बसाइ पछि घर फर्कियो । उसका आफन्त र साथी संगीहरुले उसलाई विदेशको बसाइ र रहनसहनका अनुभवहरु सुनाउन अनुरोध गरे, केटाकेटीहरु पलेटी कसेर सुन्न बसे ।
समय भन्दै गयो - रमाइला र रोचक अनुभवहरु त कति छन कति, लेख्यो भने त सिङ्गो किताबै तयार होला तर ती दिनचर्या र अनुभवहरुको थुप्रोमा एउटाचाहिँ सबैभन्दा माथि छ । त्यो हो, एउटा चौतारी, जहाँ हामी फुर्सद हुने बित्तिकै भेला हुन्थ्यौं र मिठा मिठा गफ गर्थ्यौं र अहिले पनि गर्छौं । एउटा नजानिँदो बानीजस्तै बसेको छ ।
सबै मुखामुख गर्न थाले, गाउमा त छैन अचेल चौतारी कहाँबाट भेट्यो यसले विदेशको शहराँ ? पत्याउनेको भन्दा नपत्याउनेको संख्या धेरै भयो । कोही कोहीले चाहिँ समयको चौतारी कुनै अमुर्त वस्तु वा विषयप्रति लक्षित हुनु पर्ने आशंका व्यक्त गरे ।
उनीहरुको आशंका सही निस्कियो । समयले कम्प्युटर खोल्यो, फेसबुकको झ्यालबाट एउटा गज़बको चौतारी देखियो, जहाँ गीत, गज़ल, कथा, कविता लेख्ने देखि गीत गाउने, चित्र कोर्ने वा यी सबै हेरेर रमाउने थुप्रै मान्छेहरु छपक्क भेला भै सकेका थिए ।